Monday, 31 December 2018

अचम्मको जाडो

जाडोको शुरुवात संगै प्रकृतिको विशेषता तथा मानिसहरुको चाल चलनमा पनि परिर्वतन देखा पर्दछ । रुखका पात पतिंगरहरु झरेर उजाड देखिनुका साथ साथै हुस्सु र कुहिरोले ढपक्क ढाक्न थाल्दछ अनि नजिकैको बस्तु पनि देख्न असहज हुन्छ । भेडा बाख्रा तथा गाइ बस्तुहरु रौँ ठाडो पार्दै घामको किरणको प्रतिक्षामा देखिन्छन ।अनि श्वास फेर्दा पनि आगोवाट धुवाँ निस्के जस्तो वाफ निस्केको देख्दा अचम्म लाग्छ ।

मानिसहरुको लागि भने जाडोको सिजन सुखी सिजन हो । खेति पाति थन्क्याइ सकेका हुन्छन । अनि अर्काे खेतिको शुरुवात भने भइसकेको हुँदैन । यतिबेलाको समय फुर्सद र घुमघामको रहने गर्दछ । जाडोको समयमा कतै कतै मानिसहरु आगोको वरिपरी चियाको सुर्की लगाउँदै गोलबद्ध भएर गफ गरिरहेको देख्न सकिन्छ । त्यस्तै बाक्लो भुत्ते कपडा लगाएर नचिनिने भएर हिँड्ने पनि देखिन्छ । कोही मानिसहरु भुत्ते कपडामाथि गलबन्धी ढपक्क बाँधेर हावाको सर्काे पनि शरिरमा छिर्न नदिने गरी बस्दछन । कोहि कोहि त आफ्नो तालमा भन्दा गलबन्धीको तालमा हिँड्ने गर्दछन । निकै महत्वपुर्ण कुरा जुन छाड्नै नहुने छ जस्तो गरी  गोजिमा हात राखेर नाक मुख, गला सवै ढाकिन्छन । अनि गलबन्धी मिलाउन पनि गोजी बाट हात झिक्दैनन बस् मुन्टो मर्काएर वा तन्काएर भएपनि एकछिन सम्म भएपनि गोजीमा हात राख्न छाड्दैनन् ।

यता उता समाचार तथा मोवाइलमा पनि आज त बर्षकै सवैभन्दा चिसो छ रे भन्ने समाचार आउँछ । अनि मोवाइलको मौषम विभागले त ऋणात्मक तापक्रम नै देखाउँछ । दिनहुँ ओहो अझै जाडो बढ्ने क्रममा छ भन्दै जाडो वित्ने गर्दछ ।  कहि कतै हिउँ परेको पनि सुन्न देख्न पाइन्छ भने फेसवुकको वालमा हिउँ संग गाँसिएका तस्विरहरु पनि देख्न पाइन्छ । सुत्ने समयमा पनि कता बाट हावा सिरक भित्र वाट छिर्दैन भन्दै आसन परिर्वतन गरी गरी सुत्नु पर्दछ ।

यसै जाडोमा विविध चाडपर्वहरु जस्तै ल्होसार, अंग्रेजी नयाँ बर्ष, मकर सक्रान्ती जस्ता महत्वपुर्ण पर्वहरु पर्दछन । यी चाडपर्वहरु फुर्सदको समयमा पर्ने भएकाले विशेष रमाइलो गरी मनाइन्छन । जाडोमा चियाको महत्व निकै हुने गर्दछ ।

साँच्ची जाडो अजिव छ । यस्तो जाडोमा आफ्नो विशेष ख्याल गर्नुहोला ।

No comments:

Post a Comment