Wednesday, 20 July 2022

Logical Framework analysis

 लगफ्रेम

लगफ्रेम उद्देश्यमूलक आयोजना तर्जुमा तथा व्यवस्थापनका लागि एउटा विश्लेषणात्मक औजार  हो । यसले आयोजनाका उद्देश्यहरू पहिचान गर्न मद्दत गर्दछ र अनुगमन गर्न सकिने सूचकहरूको निर्धारण गर्दछ । साथै आयोजनाको क्षेत्रबाहिरबाट यसको सफलतामा पर्न सक्ने असरका बारेमा पुर्वानुमान गर्दछ र जोखिमहरूलाई पहिल्याउँछ अर्थात्, यसको मद्दतले आयोजनाले प्राप्त गर्न खोजेको लक्ष्यलाई सुरूमै पहिचान गर्न र त्यस्ता लक्ष्य प्राप्त भए–नभएको मापन गर्ने साधनहरूको सुरूमै विकास गर्न सकिन्छ ।

यी सबै कुराहरूलाई सङ्क्षेपमा प्रस्तुत गर्ने लगफ्रेमको ढाँचा मुख्यतया ४/४ को एउटा म्याट्रिक्स (Matrix) मा आधारित हुन्छ । लगफ्रेम प्रयोग गर्ने विभिन्न दातृ निकायहरूले यसलाई फरक फरक नाम र छुटृाछुटैृ ढाँचामा प्रस्तुत गर्ने गरेको पाइन्छ । जाइकाले यसलाई Project Design matrix (PDM) भन्दछ भने GTZ  ले ZOPP भन्दछ । नेपाल सरकारका आयोजनाहरूका सन्दर्भमा एकरूपताका ल्याउने हिसावले लगफ्रेम (सोँच तालिका) भनिन्छ र राष्ट्रिय योजना आयोगले लगफ्रेमको निश्चित ढाँचा (तालिका १ मा दिइएको ढाँचा ) निर्धारण गरी लागू गरेको छ । तल तालिका १ मा दिएको ढाँचाले लगफ्रेमका माथि उल्लेख गरिएका सबै विशेषताहरूलाई सङ्क्षेपमा प्रस्तुत गर्दछ । यसमा हरेक महल (Column) मा चार हरफहरू (Row) रहेका हुन्छन् । जसमा पहिलो महलमा उल्लेख भएका लक्ष्य, उद्देश्य, प्रतिफल तथा क्रियाकलापहरू हरेकका लागि दोस्रो, तेस्रो र चौथो महलमा क्रमशः अलग–अलग सूचकहरू, पुष्ट्याइँका स्रोतहरू तथा पूर्वानुमान तथा जोखिमहरूका लागि प्रावधान राखिएको हुन्छ ।

यसका महलहरूले लगानी, क्रियालकलाप, उद्देश्य र लक्ष्यहरूबीचको अन्तर–सम्बन्धलाई देखाउँछ र यसलाई ठाडो तर्क (Vertical logic) भनिन्छ । ढाँचामा रहेका पङक्तिहरू (Row) ले क्रियाकलापहरू तथा उपलब्धिहरू हासिल भए–नभएको हेर्ने सूचकहरू, तिनको पुष्ट्याइँका माध्यमहरू र पूर्वानुमान तथा जोखिमहरूलाई इङगित गर्छन् । यसलाई तेर्सो तर्क (Horizontal Logic) भनिन्छ । 



लगफ्रेम संरचनाका अङ्गहरू 


ठाडो तर्क

लक्ष्य 
लगफ्रेममा आयोजनाका उद्देश्यहरूका विभिन्न तह हुन्छन्, र लक्ष्य सबभन्दा माथिल्लो तहको उद्देश्य हो, जसको प्राप्तिमा आयोजना वा कार्यक्रमले योगदान पु¥याउने अपेक्षा गरिएको हुन्छ । लक्ष्य आयोजनाको दीर्घकालमा देखिने प्रभाव हो र यस्तो लक्ष्य साधारणतयाः कुनै कार्यक्रम वा क्षेत्रको उद्देश्य हुन्छ । उदाहरणका लागि कृषि उत्पादनमा वृद्धि उद्देश्य हुन्छ भने कृषकको आयमा वृद्धि लक्ष्य हुन्छ ।
उद्देश्य
आयोजनाको तत्कालीन उद्देश्य (जसको प्राप्तिका लागि आयोजना सञ्चालन गरिएको
हुन्छ) लाई नै उद्देश्य  भनिन्छ । वास्तवमा यसले आयोजनाबाट प्राप्त गर्न खोजिएको निर्दिष्ट परिणाम ९च्भकगति० लाई जनाउँछ । आयोजनाको आधारभूत उद्देश्य सकभर एउटै हुनु उपयुक्त हुन्छ ।

प्रतिफल
आयोजनाका विभिन्न क्रियाकलापहरू तथा लगानीको व्यवस्थापनबाट हासिल गर्न खोजिएका खास–खास परिणामहरू नै आयोजनाका प्रतिफलहरू हुन् । प्रतिफल यस्ता परिणामहरू हुन् जसका लागि आयोजनाको व्यवस्थापन प्रत्यक्ष रूपमा जवाफदेही हुन्छ ।

क्रियाकलाप
आयोजनाले निर्दिष्ट गरेका प्रतिफलहरू प्राप्त गर्न सञ्चालन गरिने विभिन्न गतिविधिहरूलाई क्रियाकलाप भनिन्छ । यस्ता क्रियाकलापहरूको पहिचान र सूचिवद्ध गर्ने कार्य ज्यादै सावधानीपूर्वक गर्नुपर्दछ ।
लगानी
आयोजनाको प्रतिफल प्राप्त गर्न सञ्चालन गरिने क्रियाकलापहरूका लागि चाहिने आवश्यक साधन–स्रोतहरू यसका लगानी  हुन् । आयोजनाका लगानीहरू भन्नाले आवश्यक जनशक्ति, बजेट, सामग्री तथा सूचनाहरूलाई जनाउदछ । 


तेर्सो तर्क 

कार्य सम्पादन सूचकहरू 
 वस्तुगत रूपले पुष्ट्टयाइँ गर्न सकिने सूचकलाई कार्य सम्पादन सूचक पनि भनिन्छ । यसले परिमाण, गुण, समय र लागतका हिसाबले आयोजना सञ्चालनबाट अपेक्षित परिणाम प्राप्त भइरहेको वा नरहेको स्पष्ट रूपमा सङ्केत दिने आधारहरू प्रस्तुत गर्दछ । लगफ्रेमको ठाडो तर्कका हरेक तहको निमित्त छुट्टै सूचकहरू हुन्छन् , यसबाट के–कति प्रगति हासिल भयो र के–कति गर्न बाँकी छ भन्ने यकिन गर्न सकिन्छ र त्यसैअनुसार क्रियाकलापहरूलाई व्यबस्थित गर्न सकिन्छ । यसमा सूचकहरू मापन योग्य हुनुपर्ने कुरामा ध्यान दिनुपर्दछ र आधार अङ्क तथा लक्षित अङ्क र समय–सीमा स्पष्ट उल्लेख हुनुपर्दछ । जस्तै, २ वर्षमा प्रति हेक्टर उत्पादन १.८ मे.टनबाट ३ मे.टन पु¥याउने । 
पुष्ट्याइँका आधारहरू
यसले पूर्व निर्धारित सूचकहरूका आधारमा आयोजनाको सफलता वा असफलतालाई पुष्ट्याइँ गर्ने साधनलाई पहिले नै स्थापना गरिसकेको हुन्छ । यसमा प्रत्येक सूचकका लागि पुष्ट्याइँका उपयुक्त आधार पनि तोकिएको हुनुपर्दछ । यसका लागि आवश्यक तथ्याङ्क वा सूचनाहरू कहाँबाट प्राप्त हुन्छ र त्यसका स्रोतहरू के हुन्, स्पष्ट हुनुपर्दछ । यो आयोजनाको अनुगमन तथा मूल्याङ्कनसँंग सम्बन्धित छ।

पूर्वानुमान 
यी यस्ता बाह्य तत्वहरू हुन्, जो आयोजनाको प्रगति र सफलताको लागि अनिवार्य सर्तका रूपमा रहन्छन् । आयोजना तर्जुमा गर्दा नै आयोजना कार्यान्वयनको सम्पूर्ण अवधिभर एउटा खास किसिमको प्राकृतिक, राजनीतिक, आर्थिक, सामाजिक तथा वातावरणीय अवस्था विद्यमान रहनेछ भन्ने अनुमान गरिएको हुन्छ । यस्ता पूर्वानुमानहरू आयोजनाको नियन्त्रणभन्दा बाहिर हुन्छन् । यदि यस्ता पूर्वानुमान गरिएको स्थितिमा कुनै पनि बाह्य कारणहरूले कुनै परिवर्तन हुन्छ र यो आयोजनाको नियन्त्रणभन्दा बाहिर भएमा यसले आयोजनालाई प्रतिकूल असर पार्न सक्छ र अपेक्षित परिणाम प्राप्त नहुन सक्छ । यस्तो अवस्थामा सुरूमा गरिएका यी अनुमानहरू आयोजनाको सफलतामा बाधा पु¥याउने जोखिम  हुन पुग्छन् । आयोजनाको लक्ष्य हासिल हुने–नहुने कुरा पूर्वानुमानहरू सही साबित भए–भएनन् भन्नेमा निर्भर गर्दछ । लगफ्रेममा पूर्वानुमानलाई उल्लेख गर्दा यसलाई सकारात्मक स्थितिका रूपमा उल्लेख गर्नुपर्दछ । 

लगफ्रेमका चरणहरु 
लगफ्रेमको प्रयोगबाट आयोजनाको ढाँचा तयार पार्ने कार्य यसका विभिन्न तहका उद्देश्यहरु बीचको कारण–
असरको अन्तरसम्बन्ध स्थापित गराउने सामूहिक अभ्यासको परिणति हो । यसको लागि मुख्यतः निम्न
चरणहरुका अभ्यास पार गर्नुपर्दछः–

आयोजनामा सरोकार राख्ने व्यक्ति वा समूहको बिश्लेषण 
आयोजना कार्यक्रमका सरोकारवाला (आयोजनास्थलका स्थानीय जनता, लाभान्वित हुने वर्ग, कार्यान्वयन गर्ने निकाय, सहयोगी निकायहरु आदि) हरुसंग तत् क्षेत्रसंग सम्वन्धित आवश्यकता तथा समसामयिक समस्याहरुका वारेमा विस्तृत छलफल गरिन्छ । 
समस्या बिश्लेषण 
सरोकारवालाहरुसंगको छलफलबाट प्रस्तुत हुन आएका विभिन्न समस्याहरु बीचको कारण र असर हरुलाई वृक्षको रुपमा राखी समस्याको विश्लेषण गरिन्छ । हरेक समस्याका कारण हुन्छन भने त्यस समस्याबाट परेको असरहरु पनि स्पष्टसंग देखिन्छ । समस्याको कारण र असर भएको एउटा समस्याको वृक्ष वनाईन्छ ।
उद्देश्यहरुको बिश्लेषण 
समस्याको वृक्षमा औल्याइएका विभिन्न समस्याहरु समाधानको लागि गरिने कार्यहरु र त्यसबाट पर्ने प्रभावहरुलाई वृक्षको रुपमा देखाइन्छ । सजिलोसंग वुझ्नको लागि समस्याको विश्लेषणमा भएको समस्याको वृक्ष मा प्रस्तुत गरिएको नकारात्मक विवरण  लाई सकारात्मक विवरणमा राखी प्रस्तुत गरिन्छ । यस विश्लेषण प्रणालीमा साधन र साध्य को स्पष्ट सम्वन्ध देखिई अन्त्यमा उद्देश्यको वृक्ष वनाईन्छ ।
विकल्पहरुको बिश्लेषण 
समस्या समाधान गर्ने उपायहरु धेरै हुन सक्दछन् तर समय, क्षेत्र, पूँजीको उपलव्धता तथा अन्य परिस्थितिको आधारमा कहिलेकाँही केही समस्याहरु समाधान गर्न एउटा आयोजनाले मात्र नसक्ने अवस्थामा विभिन्न उपायहरुमध्येको उपयुक्त विकल्प छानी त्यसैलाई आयोजनाकोरुपमा छनौट गरिन्छ । यस चरणलाई आयोजनाको छनौट चरण पनि भन्न सकिन्छ ।

लगफ्रेमका सीमाहरू

लगफ्रेम विधि आयोजना तर्जुमा तथा यसको कार्यान्वयनको अनुगमन मूल्याङ्कन गर्ने विभिन्न अ‍ौजारहरूमध्ये एउटा महत्वपूर्ण औजार हो तर यसले प्राविधिक, आर्थिक, सामाजिक एवं वातावरणीय विश्लेषण हरूलाई विस्थापित गर्दैन । यो आय वितरण, रोजगारीका अवसरहरूको सिर्जना, स्रोत सम्बन्धमा पहुँचजस्ता लक्ष्य प्राप्तिमा निरपेक्ष  रहन्छ । यसले व्यवस्थापकहरूको अनुभवलाई पनि विस्थापित गर्दैन । लगफ्रेमबाट अधिकतम लाभ लिन संलग्न व्यक्तिहरूलाई व्यवस्थित तालिम दिनु अत्यावश्यक हुन्छ ।